प्रकाशित : २७ श्रावण २०७५, आईतवार १०:५९

विराटनग, २७ साउन । नेपाली गोलभेडाको निकासीमा भारतीय अबरोध जोगवनी नाकामा यथावत रहेको छ । गोलभेडाको निकासीमा डेढ महिना अघिबाट सुरु भएको भारतीय अबरोध सोमवारबाट हटेको भनिएतापनि जोगवनी नाकामा अझै कायम रहेको व्यवसायिहरुले बताएका छन् ।
जोगवनी नाकामा रहेको भारतीय प्लान्ट क्वारेन्टाईन चेकपोष्टले नेपालबाट निकासी हुने सूचीमा गोलभेडा र नास्पतिको नाम नरहेको भन्दै फकाई दिने गरेको विराटनगर स्थित गुद्री बजारका तरकारीका थोकविक्रेता त्रिलोकी भगतले बताउनुभयो ।

“ठूलो परिणामको त के कुरा साईकलमा एक दुई क्यारेट लगिएका गोलभेडा समेत भारतीय प्लान्ट क्वारेन्टटाईन चेकपोष्टले फकाईदिने गरेको छ ”– भगतले भन्नुभयो ।

त्यस्तै अर्का व्यवसायी विजय गुप्ता पनि जोगवनी स्थित भारतीय प्लान्ट क्वारेन्टाईनले एक गेडापनि गोलभेडा लैजान नदिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “चोरी निकासी भएर जाने कुरा अलग हो तर बैधानिक किसिमले यसपटक गोलभेडा लैजान दिएको छैन ।”
जोगवनी नाका भएर विगतमा दैनिक जसो झण्डै १० ट्रक गोलभेडा भारत तर्फ निकासी हुने गरेको व्यवसायिहरुको दाबी छ ।

यस अघि नेपालको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतको बाणिज्य मन्त्रालयका अधिकारीहरुबीच गोलभेडाको निकासीमा भारतले लगाएको अबरोध हटाउने बिषयमा आईतबार सहमति भएको बताइएको थियो । उक्त सहमति पछि सोमवारदेखि नेपाली गोलभेडा भारत तर्फ सहजरुपमा निकासी हुनुपर्ने थियो ।

तर काँकडभिट्टा नाका बाहेक अन्य नाकमाा गोलभेडामा भारतले लगाएको अबरोध अझै कायम रहेको व्यवसायिहरुले बताएका छन् । उक्त नाका पनि दैनिक एक/दुई घण्टा मात्र निकासी सहज भएको विराटनगर स्थित गुद्री बजारका हरियो तरकारीका थोक विक्रेता गौरीशंकर भगत बताउनु हुन्छ ।

प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले यस विषयमा भारतको वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य मन्त्रालयका अधिकारीहरु बीचमा गोल भेडामा लगाइएको अवरोध हटाउने विषयमा सहमति भइसकेकाले जोगवनी नाकाको अवरोध पनि चाँडै हट्ने बताउनुभयो ।

यसरी भारत निकासीमा अवरोध भएपछि विराटनगर र आसपासको बजारमा यो बर्ष गोलभेडाको मूल्य सस्तिएको छ । विगतमा यो सिजनमा प्रति किलो रु ६० सम्म पर्ने गोलभेडा यस बर्ष प्रति किलो रु २५ मै उपभोक्ताहरुले पाईरहेका छन् । गएको आर्थिक बर्ष २०७४/०७५ मा जोगवनी नाका भएर रु ५० लाख १८ हजार मूल्यको दुइ लाख ९९ हजार किलो गोलभेडा भारततर्फ निकासी भएको विराटनगर स्थित भन्सार कार्यालयले जनाएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३