प्रकाशित : २३ श्रावण २०७५, बुधबार १६:४९


विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाले गरेको कर बृद्धिको विरोधमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । युवा संघ र वाईसिएल नेपालले संयुक्त रुपमा महानगर कार्यालय प्रवेश गर्ने गेटमै रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा संकलन भएको ३० पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई बुझाइएको छ ।
सडक तताएर र भौतिक संरचना तोडफोड गरेर तथा चर्का नारा लगाएर आन्दोलन गर्नु भन्दा पनि रचनात्मक र सिर्जनात्मक हिसावबाट विरोध गरेर कर बृद्धिको निर्णय फिर्ता गराउने अभियानमा जुटेको युवा संघ मोरङका अध्यक्ष नविन पौडेलले बताउनु भयो ।
महानगरले एक हजार प्रतिशत सम्म कर बृद्धि गरेको बताउँदै उहाँले सर्वसाधारण जनतालाई धेरै भार पर्ने गरी गरिएको निर्णय खारेजीको माग गर्दै रक्तदान गरिएको जानकारी दिनु भयो ।
पौडेलले जनताले पाउनै पर्ने र राज्यले प्रदान गर्नै पर्ने अनिवार्य सेवा सुविधामा एक हजार प्रतिशत सम्म कर बृद्धि गरेर जनतामारा निर्णय महानगरले गरेको पनि बताउनु भयो ।
वाईसिएल नेपालका केन्द्रीय सचिवालय सदस्य ईश्वरी आचार्यले कर बृद्धिको विरोधमा महानगरपालिकालाई एउटा ज्ञापन पत्र पनि बुझाइएको बताउनु भयो । उहाँले अप्रत्यासित कर बृद्धि फिर्ता गरेर कर समायोजनका सवालमा पुर्नबीचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको जानकारी दिनु भयो ।
कर बृद्धिको शैलीको विरोध गर्दै त्यसलाई समायोजन गरेर जनपक्षीय बनाउनु पर्ने आफूहरुको मुख्य माग रहेको आचार्यले बताउनु भयो ।