Breaking News

पार्थेनियमको पिरलो

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १२:२०

रामचन्द्र अधिकारी

केही वर्ष अघिसम्म तराईका सडककिनारमा मात्र देखिने पार्थेनियम नामको झार आजकाल करेसाबारी, फूलबारी, तरकारी फारम यत्रतत्र फैलिएर असर पुर्याइरहेको छ ।

उम्रिदै गर्दा धनियाजस्तो देखिने, अलिपछि गोदावरी फूलको विरुवा झै लाग्ने, ठूलो हुदै जादा तितेपाती हो कि भन्नुजस्तो ।

जब वयस्क भई फुलिदिन्छ अनि पो थाहा लाग्छ यो त काम नलाग्ने विरुवा रहेछ । सुरुका चरणहरुमै मानिसले ठम्याउन नसकेर पाल्नैपर्ने विरुवा उम्रियो भनेर जोगाउछन् अन्त्यमा जब उसले आफ्नो सन्तानको बिजारोपण जमिनमा गरिसक्छ अनि मानिसले यसलाई फ्याक्ने गरेका छन् ।

यो प्रवृतिले गर्दा यो झार नियन्त्रित नभई विस्तार भएर आएको छ ।

वैज्ञानिक नाम पार्थेनियम हिस्टेरोफेरस भएको यो वनस्पति नेपालको रैथाने होइन । मेक्सिकोमा उत्पति भएको विस्तारै अमेरिका र अष्ट्रेलिया, अनि दक्षिण एशियाका भारत हुदै नेपाल आइपुगेको वनस्पतिशास्त्रहरुमा उल्लेख छ ।

बाहिरबाट आएको हुनाले यसले नेपाली नाम पाएको छैन । भारतमा सन् १९५६ मा पहिलो पटक देखा परेको थियो । नेपालमा भने कहिले आइपुग्यो भन्ने यकिन हेक्का सबैलाई नभए पनि विज्ञहरु करिब २५ वर्ष अघि आएको हो कि भनेर अनुमान लगाउछन् ।

वनस्पति शास्त्रका प्राध्यापक डा. शशीनाथ झाले भन्नुभयो–‘यसलाई मैले विराटनगरमा सन् १९९० तिर पहिलोपटक देखे ।’ प्राडा झा थप्नुहुन्छ–‘हेर्दाहेर्दै यसले पूरा शहर ढाकिसक्यो । समयमै सचेत नभए यसको प्रकोप बढेर जान्छ ।’
यो एक प्रकारको मिचाहा, रिसाहा र साम्राज्यवादी झार हो ।

यसका फाइदा के छन् वैज्ञानिकले बुझेका छैनन् । तर बेफाइदाले भरिपूर्ण यो विरुवा मृत्युप्रदायक हुदोरहेछ । वैज्ञानिक रिचार्ड जे स्मीडले सन् २००४ मा प्रकाशित गरेको विवरणअनुसार भारतमा वर्सेनी एक हजार मानिस यो झारको प्रभावमा परेर विरामी पर्छन् र केही मर्छन् पनि ।

पार्थेनियमलाई चलायो भने मानिसलाई एलर्जी हुने, छाला चिलाउने, आ“खा पोल्ने या चिलाउने समस्या आउछन् । यीभन्दा जटिल त लामो समय यसको आसपास बसिन्छ भने त दमको स्थायी रोगी बनिन्छ – भन्नुहुन्छ प्राडा झा ।

उहाका अनुसार यो आतंककारी झारको अंकुरण क्षमता र गति एवम् वृद्धिदर आश्चर्यनजक द्रुत छ । यसले अरु वनस्पतिलाई उम्रिन र बढ्न नदिने एलेलोप्याथिक रसायन उत्पादन गर्दछ जसका कारण यो फैलिइरहन्छ अरु जातका विरुवा उम्रिन सक्दैनन् ।

दुवो,बन्सो,सिरुजस्ता उपयोगी घासलाई यसले मिचिरहेको छ । प्राडा झा कै भनाइअनुसार बैगुन,खुर्सानीलगायतका तरकारीका फूलमा पार्थेनियमको परागकण पुगेर बसिदियो भने ती तरकारीमा फल लाग्दैन ।

किसानलाई किन यस्तो भयो थाहा लाग्दैन र विषादी छिट्छन् तर समस्या अर्कै छ । विराटनगर–१६ का भैसीपालक किसान हरेराम यादव पार्थेनियमको डाठ निमोठ्दै भन्नुहुन्छ–‘हिजोआज भैसी चराउने ठाउमा यस्तो झार आएको छ,तबत भै“सी चर्नै मान्दैन ।’

शास्त्रहरुमा लेखिएअनुसार गाईभैसीले यो झार खाएको छ भने त्यस्ता पशुको दुध मानिसले खाएमा मानिसमा असर पर्छ । तथापि यादवको भनाइमा गाईभै“सी यसको गन्धदेखि भाग्छन् ।

साधारणतया डेढ मीटर लामो सीधा ठाडो काण्ड हुने पार्थेनियमको पातको लम्बाइ ३० सेन्टिमीटरजति हुन्छ । कहिलेकाही दुई मीटरसम्म माटोमुनि यसको दबिएको भाग भेटिएको छ ।

एउटा विरुवाले औसतमा १५ हजार वटा नया“ सन्तान उत्पादन गर्नसक्ने बीउ दिन्छ । २२ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रम बीउ अंकुराउन अनुकुल हुनेछ । यो निकै ज्याद्रो वनस्पति हो किनकि बीउ पाच सेमी जति मुनि भासिएको भए दुई वर्षसम्म नउम्रिकन बसिरहन्छ,प्रतिकूल स्थिति भयो भने ।

पूर्वी तराईका विराटनगर, धरान, इटहरीका खाली र सडक या नहर किनारका जमिनमा यसले पूरै ढाकेको हुनाले सबैको चिन्ताको विषय बनेको सरोकारवालाहरु बताउछन् ।

खेतबारीमा पार्थेनियमले ढाकेर मजदुरी खर्च त बढायो नै माटोको उर्वराशक्तिलाई घटाइरहेको छ ।

यसैको असरले बिरामी परेका मानिसको तथ्यांक विराटनगरमा रेकर्ड नगरिए पनि असर चाहिपरिरहेको हुनसक्छ । रैथाने झारलाई मारेर प्राकृतिक पारिस्थितिक प्रणालीलाई यो विषालु झारले उलटपुलट पार्ने संभावना बढेर आएको प्राडा झाको भनाइ छ ।

हानिकारक भनेर विश्व परिचित वनस्पतिको विषालुपना कस्तो रहेछ भनेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भरतबाबु श्रेष्ठको मातहतमा देवेन्द्र कार्कीले भरतपुर र हेटौडामा अध्ययन गर्नुभएको थियो ।

उहाको प्रकाशित सामग्रीमा उल्लेख भएअनुसार मानिसमा छालामा रोग, आखा रातो हुने, एलर्जी हुने जस्ता समस्या देखियो । आसपासमा दर्जनौ रैथाने झारहरु यसले छाड्ने एलेलोप्याथिक रसायनका कारण फैलिन सकेका छैनन् ।

नेपालमा यस्ता विदेशी वा आयातित वनस्पतिका लगभग १६६ प्रजाति छन् । यसमा अधिकांश मिचाहा प्रवित्तिकै पाइएका छन् ।

पार्थेनियमलाई पाखा लगाउनका लागि सडक डिभिजन कार्यालयले हरेक साल किनारमा फडानी गर्छ भने भित्री सडक र नाला किनारमा नगरपालिका कार्यालयले ।

विराटनगर उपमहानरपालिकाका वातावरण महाशाखा प्रमुख उमेश ओझाले भन्नुभयो–‘हाम्रो नियमित सरसफाइ अन्तर्गत नै यो झार पनि काटेर फ्याक्ने गरिएको छ ।’ अति ज्याद्रो एवम् सफल मानिने पार्थेनियमलाई नियन्त्रण गर्न सर्वसाधारणलाई सचेत गराउनुपर्छ भन्ने धारणा राख्नुहुन्छ– प्राडा झा ।

उहाले भन्नुभयो–‘सबै मानिस सचेत भएर फुल्न भन्दा अगाडि नै उखेलेर फालियो भने मात्र यसलाई व्यवस्थापन गर्न सकिएला । नत्र समस्या जटिल छ । ’

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३