प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १५:३२

विराटनगर, १८ साउन । प्रशोधित पानी उत्पादनका क्रममा गम्भीर लापरवाही गर्ने मोरङका ११ वटा पानी उद्योग बन्द गरिएका छन् ।

पानीको ल्याव परीक्षणका क्रममा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएपछि सामाजिक विकास मन्त्रालयले सबै पानी उद्योग बन्द गर्न निर्देशन दिएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेत्रृत्वमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका सरकारी निकायले गरेको संयुक्त अनुगमन तथा पानी परिक्षणका क्रममा पानीमा मानव स्वास्थ्यका लागि अति नै हानिकारक जीवाणु फेला परेको हो ।

मन्त्रालयले आज परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै ल्याव परीक्षणका लागि नमुना संकलन गरिएका २० वटा पानी उद्योग मध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको जानकारी दिएको छ । तीनवटा उद्योगले उत्पादन गरेका पानी पिउन अयोग्य रहेको पाइएको छ । छ वटाले उत्पादन गरेको पानी पिउन योग्य भए पनि ती उद्योगले समेत कतिपय मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल सचेत गराएर मापदण्ड पूरा गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचि गोपी घिमिरेले बताउनु भयो ।

अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगले सरसफाईमा ध्यान नदिने गरेको, लापरवाही तरिकाबाट पानी उत्पादन गर्ने गरेको, सोडा तथा पोटाशको मात्रा नमिलाउने गरेको, अनुमति तथा नविकरण विनानै उद्योग संचालन गर्ने गरेको पाइएको घिमिरेको भनाइ छ । उनका अनुसार कतिपय पानी उद्योग गाई गोठबाटै संचालित रहेको पनि फेला परेको थियो ।

कतिपयका उद्योगको बोरिङ र शौचालय संगसंगै रहेको भेट्टाइएको घिमिरेले बताउनु भयो । मन्त्रालयले विराटनगर महानगरपालिका ५ को गंगा जल उद्योग, विराटनगर ४ को गोमा रानी जल उद्योग, विराटनगर ६ को पूजा फूड एन्ड वेभरेज प्राली, विराटनगर २ को तिरुपति जल उद्योग, विराटनगर १० को हाईमल वाटर इन्टष्ट्रिज, विराटनगर ११ को माउण्टेन वाटर, विराटनगर १३ को श्रीजल उद्योग, विराटनगर ८ को शीतल जल उद्योग, विराटनगर १४ को जोनसन जल उद्योग, विराटनगर १२ को दिब्य श्री जल उद्योग र बुढीगंगा गाउँपालिका १ को शुभ जल उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

अनुगमन गरिएका मध्ये विराटनगर ५ को शान्ति जल उद्योग भने मापदण्ड अनुसार नै संचालनमा रहेको र त्यहाँ कुनै पनि समस्या नपाइएको क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताउनु भयो ।

उहाँका अनुसार विराटनगर ७ को एसएसएस जल उद्योग, विराटनगर ५ को गुडलक, विराटनगर ८ को हाम्रो प्रयास जल उद्योग, विराटनगर ११ को पूर्वाञ्चल निर्मल जल उद्योग, विराटनगर ९ को मंगल वेभरेज, विराटनगर १० को प्रजापति जल उद्योग, विराटनगर १५ को हुलास प्युरिफाईड, विराटनगर १२ को भूमि जल उद्योग समेतबाट उत्पादित पानीमा भने एउटा न एउटा समस्या भेटियो ।

कोइरालाले पानी उत्पादनमा गम्भीर लापरवाही गरेका र प्रशोधित पानीमा ‘कोलीफर्म’ समेत भेटिएका उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा खाद्य ऐन अनुसार मुद्धा दायर गरिने बताउनु भयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानव स्वास्थ्यका लागि अतिनै हानिकारक जीवाणु ‘कोलीफर्म’ भेटिएका पानी उद्योग संधैका लागि बन्द गरिने जानकारी दिनु भयो ।

मन्त्रालयकै नेत्रृत्वमा साउन १ गतेबाट पानी उद्योगको अनुगमन सुरु गरिएको थियो । अनुगमनकै क्रममा पाँचवटा पानी उद्योगमा शिलवन्दी गरिएको थियो । उहाँले ‘कोलीफर्म’ भेटिएका र पानी पिउन आयोग्य देखिएका उद्योगको उत्पादन र बजारीकरण संधैका लागि बन्द गर्न निर्देशन दिइसकिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३