प्रकाशित : १६ श्रावण २०७५, बुधबार १४:०२


विराटनगर १६ साउन । विराटनगर महानगरपालिकाले स्वच्छ,सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर भन्ने नारा सहित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।
आज महानगरका प्रमुख भीम पराजुलीले विराटनगर १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
नाली सहित पिच भएका सडक छेउमा वृक्षरोपण गरिने महानगरपालिकाले जनाएको छ । जसका लागि १ हजार ७ सय ५० विरुवाहरु रोप्ने तयारीमा महानगर जुटेको छ ।
वृक्षरोपण कार्यक्रममा विराटनगर महानगरका प्रमुख पराजुलीले विराटनगरलाई हरित नगरका रुपमा विकास गरिने बताउनुभयो । उहाँले नगरलाई सफा स्वच्छ र सुन्दर बनाउनका लागि सरसफाई र वृक्षरोपण कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, वडा नं १० का वडाध्यक्ष माधवराज वाग्ले, महानगर वातावरण शाखा अधिकृत अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।