प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १३:१७


विराटनगर, १५ साउन । मोरङको केरावारी गाउँपालिका १० स्थित कालीपोखरी जाने बाटोको जंगलबाट प्रहरीले गएराति हवाई फायर गरेर बहुमूल्य सखुवाको काठ नियन्त्रणमा लिएको छ ।
तस्करी गरेर केरावारी बजारतिर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केरावारीबाट सइ दिपक यादवको नेत्रृत्वमा गएको प्रहरी टोलीले काठ नियन्त्रणमा लिएको हो । ९/१० जनाको संख्यामा रहेका तस्करको समूहले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि काठ नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार तस्कर समूह काँधमा सखुवाको चिरान काठ बोकेर अघि बढिरहेको अवस्थामा प्रहरीले भेट्टाएको थियो ।
त्यसपछि तस्करीमा संलग्न प्रहरीमाथि खनिएको डीएसपी श्रेष्ठले बताउनु भयो । तस्करीको काठ नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले फायर नै खोल्नु परेको उहाँको भनाइ छ । हवाई फायर गरिएपछि भने तस्करीमा संलग्न काठ त्यहीं छाडेर फरार भएका थिए ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट तस्करी गर्दै गरेको सखुवाको छ वटा चिरान काठ, काठ काट्न प्रयोग गरिने आरा लगायतका विभिन्न औजारहरु, टर्च लाइट, खुकुरी, डोरी समेत बरामद गरेको छ । बरामद काठ सहितका सामान आवश्यक कारवाहीका लागि प्रहरीले आज सेक्टर वन कार्यालय सलकपुरमा बुझाएको छ ।