Breaking News

विराटनगरबाट नक्कली औषधि विक्री गर्ने तीन जना पक्राउ

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १८:४७

विराटनगर, १४ साउन । प्रहरीले विराटनगरबाट नक्कली औषधि विक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । गयराति विभिन्न ठाउँमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि विराटनगरका विभिन्न फार्मेसीबाट नक्कली औषधि विक्री हुने गरेको खुलेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ४ का ३२ वर्षीय जीवन अग्रवाल, विराटनगर १० का ३३ वर्षीय दिपक कुमार राय र सप्तरी माहुली ५ का ३० वर्षीय प्रशान्तकुमार चौधरी रहेका छन् ।

विराटनगरका विभिन्न अस्पताल भित्र संचालनमा रहेका औषधि पसलहरुमा नक्कली औषधि विक्री हुने गरेको सूचनाका आधारमा प्रहरी टोली छापा मार्न पुगेको थियो । त्यही क्रममा नक्कली औषधि विक्री हुने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी केसीले बताउनु भयो । प्रहरीले लङ लाईफ फार्मेसी, महुली फार्मेसी, लाईफ सपोर्ट फार्मेसी, फेमिली फार्मेसी र मेडी प्लस फार्मेसीमा छापा मारेर ठूलो परिणामको नक्कली औषधि पनि बरामद गरेको छ ।

प्रहरीले सुरुमा न्यूरो अस्पताल अगाडिबाट अग्रवाललाई नक्कली विल, औषधिमा टाँसिने लेवल र अन्य कागजात सहित पक्राउ गरेको थियो । उनकै सूचनाका आधारमा प्रहरीले विभिन्न औषधि पसलमा छापा मारेको हो ।

सबै फार्मेसीमा अग्रवालले नै भारतबाट ल्याएर नक्कली ब्राण्डका औषधि विक्री गर्ने गरेको पाइएको एसपी केसीले बताउनु भयो । आकस्मिक र आईसियू कक्षमा विक्री गरिने औषधि समेत नक्कली हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जना र उनीहरुबाट बरामद भएका विभिन्न ६६ प्रकारका औषधि आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा बुझाएको छ ।

एसपी केसीले बिरामीलाई अति आवश्यक पर्ने औषधि जस्तो वस्तु पनि नक्कली ब्राण्डको विक्री गरेर बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेको पाइएपछि प्रहरीले सबै औषधि पसलमाथि निगरानी बढाएको बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३