Breaking News

पोशाकमा कमिसन लिन्छन् विद्यालय

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १८:४७

विराटनगर, ३२ असार । मोरङका शैक्षिक संस्थाले विद्यार्थीले लगाउने पोशाकको पनि कमिसन लिने गरेको पाइएको छ । कपडा पसलसंग कनेक्सन मिलाएर विद्यालयले १५ देखि २० प्रतिशत सम्म कमिसन लिने गरेका हुन् ।

आफ्ना छोरा छोरी लिएर कक्षा ११ मा भर्ना गर्नका लागि गएका अधिकांश अभिभावकलाई विद्यालयले पोशाक किन्न कपडा पसलको नाम र ठेगानानै तोकेर पठाएका छन् । विद्यालयले पोशाकको नमुना दिएर अभिभावकलाई किन्न उत्प्रेरित गर्नु पर्नेमा पसलको नामनै किटेर पठाउने गरेको गुनासो अभिभावकको छ ।

पोशाकमा कमिसनको खेलका कारण यस्तो अवस्था सिर्जना भएको अभिभावकहरुको गुनासो छ । अभिभावक एवं उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले अभिभावकले पोशाक लगायतका शैक्षिक सामग्री आफ्नो हिसावबाट किन्न पाउनु पर्नेमा कमिसनका कारण विद्यालयले बाध्यात्मक अवस्थाको सिर्जना गरिदिने गरेको बताउनु भयो ।

ढुँगेलले विद्यार्थीले पोशाकको कपडा किने बापतको कमिसन विद्यालयले पाउने गरेका कारण पसलको नामनै तोकेर अभिभावकलाई किन्न पठाउने गरेको बताउनु भयो । विद्यालयले पाउने कमिसनको चक्करको मारमा अभिभावक पर्ने गरेको उहाँको भनाइ छ । विराटनगरका एक कपडा पसल संचालकले पनि विद्यालयलाई कमिसन बापत १५ देखि २० प्रतिशत सम्म रकम दिनु पर्ने बताए ।

कमिसन नदिए विद्यार्थीलाई पोशाक किन्न अर्कै पसलमा पठाउने गरेका कारण व्यापार व्यवसाय संचालनका लागि पनि विद्यालयलाई कमिसन उपलब्ध गराउन आफूहरु बाध्य हुनु परेको ती कपडा पसल संचालकको भनाइ छ ।

उच्च शिक्षालय एवं माध्यमिक विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष वलराम पन्तले अभिभावकले नै कुन पसलमा गएर पोशाक किन्नु भनेर सोध्ने गरेका कारण पोशाकका लागि कपडा पसलको नाम र ठेगाना नै दिएर पठाउने गरिएको बताउनु भयो ।

पसलको नाम दिएर पठाउने गरिए पनि विद्यालयले कपडा विक्रीको कमिसन भने कपडा पसलबाट नलिने गरेको दावी उहाँको छ । कुनै कपडा पसल र विद्यालयले गलत काम गर्छन् भने त्यस्ताका विरुद्धमा अभिभावकले पनि अभियान चलाउनु पर्ने पन्तको भनाइ छ ।

पन्तका अनुसार मोरङमा हिसान आवद्ध माध्यमिक विद्यालय र क्याम्पस गरेर ३५ शैक्षिक संस्थामा कक्षा ११ मा छ हजार पाँच सय विद्यार्थी भर्ना भएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३