विराटनगर २० असोज । विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म आयोजना हुने ‘विराट ट्रेड फेयर’को तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट व्यापार संघले जनाएको छ ।
विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुने फेयरको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद अग्रवालले फेयरले विराटनगरको बजारलाई चलायमान बनाउँदै व्यापारिक क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
अग्रवालले फेयर अवधिभर करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने र एक लाख २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । फेयर विराटनगरको व्यापारिक क्षेत्रका लागि एउटा राम्रो उदाहरण बन्ने उनको भनाइ थियो ।
फेयरका संयोजक श्याम पौडेलले फेयरमा आउने हजारौँ दर्शक तथा उपभोक्ताको आवागमनले विराटनगरका पसल, होटल तथा रेष्टुरेन्टको कारोबारसमेत बढ्ने अपेक्षा गरिएको बताए । उनका अनुसार फेयरलाई व्यापारिक गतिविधिमा सीमित नराखी चाडपर्वको समयमा उपभोक्ता र उद्योग–व्यवसायलाई जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
फेयरमा एक सय वटा स्टल रहनेछन् । त्यसमध्ये ७८ वटा स्टल डोममा र बाँकी स्टल जैन भवन परिसरमा रहने आयोजकले जनाएको छ । फेयरमा व्यापार तथा किनमेललाई मुख्य प्राथमिकता दिइएको छ ।
फेयर अवधिभर स्थानीय ब्यान्ड तथा सांगीतिक समूहका प्रस्तुति पनि रहनेछन् । दैनिक फरक–फरक स्टलमार्फत उपहार वितरण गरिनेछ भने बम्पर उपहारका रूपमा एकजनालाई ईभी स्कुटरसहित अन्य सान्त्वना पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ ।
बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न यसपटक पहिलोपटक रोबोट प्रदर्शन गरिने आयोजकले जनाएको छ । पूर्वी क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिनेछ ।
विराट व्यापार संघमा हाल ४ हजार २ सय सदस्य रहेका छन् । संघले आयोजना गर्न लागेको फेयरलाई विराटनगरको व्यापारिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।