विराटनगर २० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ । मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ ।
कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाइने भएको छ । खुलामञ्चमा नै भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्ने छन् ।
मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।