दशैंमा विराटनगरमा छैठौं संस्करणको विराट सडक महोत्सव

विराटनगर १९ असोज । दशैंको अवसर पारेर विराटनगरमा छैठौं संस्करणको विराट सडक महोत्सव आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रियसन प्रालिको आयोजनामा असोज २५ गतेदेखि घटस्थापनादेखि ३० गतेसम्म विराटनगरको हिमालय रोडमा सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय नागरिक, युवा पुस्ता तथा विभिन्न क्षेत्रबाट विराटनगर आउने आगन्तुकलाई एउटै स्थानमा मनोरञ्जनसँगै मौलिक खानपान, कला, संस्कृति र संगीतको अनुभव दिलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

महोत्सवका लागि राखिएका ३० वटै स्टल बुकिङ भइसकेको आयोजक मञ्जिना मुभिज क्रियसन प्रालिका अध्यक्ष जतिन ताम्रकारले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवले विराटनगरको पर्यटन तथा सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय उत्पादन तथा व्यवसायको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘महोत्सवले विराटनगरको पर्यटन प्रवद्र्धनसँगै यहाँको सांस्कृतिक पहिचानलाई थप प्रचार गर्न सहयोग गर्नेछ,’ अध्यक्ष ताम्रकारले भन्नुभयो, ‘स्थानीय उत्पादन तथा व्यवसायलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान हुनेछ ।’

महोत्सवमा विशेषगरी नेवारी, राजवंशी, थारु र लिम्बू समुदायका मौलिक खानाका परिकार आकर्षणका रूपमा रहनेछन् । विभिन्न समुदायका मौलिक परिकार, कला तथा संस्कृतिलाई एउटै स्थानमा प्रस्तुत गरिने भएकाले महोत्सवले सांस्कृतिक विविधताको समेत प्रतिनिधित्व गर्ने आयोजकको विश्वास छ ।

विराटनगर महानगरपालिकाको मुख्य प्रवद्र्धनमा आयोजना हुने महोत्सव हरेक दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न स्थानीय सांगीतिक ब्याण्डका साथै दीक्षा जे थापाको प्रस्तुति समेत रहने संगीत संयोजक दिपेन थापाले जानकारी दिनुभयो ।

दशैंको समयमा आयोजना हुने महोत्सवले विराटनगरमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय व्यवसाय, पर्यटन र सांस्कृतिक गतिविधिलाई समेत चलायमान बनाउने आयोजकको अपेक्षा छ ।