विराटनगर ६ असाेज । आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।