रथयात्राको पछिपछि सरसफाइ टोली, रथ सकिँदा विराटनगर सफा

विराटनगर, २१ भदौ । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राको ५९ औँ संस्करणमा यसपटक सरसफाइ तथा फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

रथयात्रामा सहभागी भक्तजनलाई पानी, सर्वत तथा प्रसाद वितरणका क्रममा उत्पादन हुने फोहोर तत्काल संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको छ । रथयात्राका क्रममा सडक तथा आसपासका क्षेत्रमा फोहोर बढ्न सक्ने भएकाले त्यसलाई तत्काल संकलन, व्यवस्थापन तथा विसर्जन गर्ने व्यवस्था मिलाइएको राधाकृष्ण रथयात्रा फोहोर व्यवस्थापन उपसमितिले जनाएको छ ।

उपसमितिका संयोजक तथा विराटनगर महानगरपालिका सरसफाइ शाखा प्रमुख पूनम दाहालका अनुसार फोहोर व्यवस्थापनका लागि नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि, विराटनगरको टोली परिचालन गरिएको थियो । त्यससँगै विभिन्न स्वयंसेवक समूहलाई समेत सरसफाइ तथा फोहोर व्यवस्थापनमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

रथयात्रामा प्रयोग भएका प्लास्टिकका कप, कचौरा, प्लेटलगायतका फोहोर जथाभावी नफाली बोरामा राखेर सरसफाइ टोलीलाई उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताउनुभयो । रथयात्रालाई स्वच्छ र व्यवस्थित बनाउन भक्तजन, प्रसाद तथा पानी वितरण गर्ने समूह र स्वयंसेवक सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरी विराटनगरका विभिन्न स्थानमा पसल तथा अस्थायी व्यापारिक स्टलसमेत सञ्चालन गरिएका थि ए। ती पसल तथा स्टलबाट उत्पादन हुने फोहोरलाई पनि व्यवस्थित रूपमा राख्न र जथाभावी नफाल्न सरसफाइ उपसमितिले आग्रह गरेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राधाकृष्ण रथयात्रालाई स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री बनाउन सरसफाइमा विशेष ध्यान दिइएको उपसमितिले जनाएको छ ।

नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि, विराटनगरले रथयात्राको पछिपछि नै सरसफाइ टोली परिचालन गरी फोहोर संकलन गर्ने र रथयात्रा सम्पन्न भएसँगै विराटनगरलाई सफा बनाउन काम गरेको फूलबारीका कार्यकारी निर्देशक उमेश कट्वालले जानकारी दिनुभयो ।