खोटाङको रावावेशी गाउँपालिका ४ (सविक डुम्रेधारा गाविस ३)मा २०२४ सालमा जन्मिनु भएका श्याम घिमिरे विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभयो । स्थानीय देउराली माविमा अध्ययनरत रहँदा उहाँ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा सङ्गठित भएर राजनीति सुरु गर्नु भएको थियो । २०६० सालमा खोटाङबाट मोरङको झापाबैजनाथपुर गाविस (हाल विराटनगर १९) मा बसाँइसराइ गरेर आएसँगै उहाँको राजनीतिक सक्रियता पनि त्यही सुरु भयो । २०७९ सालका स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको १९ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । ५ वर्षे कार्यकालको चार वर्ष पुरा भएको छ । उहाँले वडामा गर्नु भएका कामका विषयमा अरुण खबर ले गरेको कुराकानीको संक्षिप्त अंश ।
विराटनगर १९ को वडाध्यक्षमा निर्वाचित भएको ५ वर्ष पुग्न लागेको छ । कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । कस्तो अनुभव गर्नु भएको छ ?
यो वडा स्थापना भएको करिब नौ वर्ष भयो । साविकको वैजनाथपुर गाविसबाट विराटनगर महानगरपालिकामा जोडिएर बनेको वडा भएकाले विकासका हिसाबले यो वडा केही पछाडि परेको थियो । अघिल्लो कार्यकालमा पनि कोरोना महामारीलगायतका कारण अपेक्षाअनुसार विकासको फड्को मार्न सकिएन । २०७९ सालमा हामी निर्वाचित भएर आएपछि दोस्रो कार्यकालमा हाम्रो मुख्य उद्देश्य वडालाई हिलोमुक्त र धुलोमुक्त बनाउने थियो । यो कुरा हामीले घोषणापत्रमै पनि उल्लेख गरेका थियौँ । धुलोमुक्त बनाउने काम पूर्ण रूपमा गर्न नसके पनि वडालाई हिलोमुक्त बनाउने लक्ष्यमा भने हामी धेरै हदसम्म सफल भएका छौँ ।
वडालाई हिलो मुक्त बनाउने घोषणा गर्नु भएको थियो ? घोषणा अनुसार के कस्ता कामहरु गर्नु भयो ?
भौतिक पूर्वाधारतर्फ करिब पाँच वर्षको अवधिमा झण्डै २० किलोमिटर सडक कालोपत्रे भएको छ । यसमा वडा, प्रदेश सरकार र संघीय सरकारको समेत सहयोग रहेको छ । त्यस्तै, क्रेजिङ वाल र रिटेनिङ वाल निर्माणमा पनि उल्लेख्य काम गरेका छौँ । करिब ५०–६० किलोमिटरको हाराहारीमा यस्ता संरचना निर्माण भएका छन् ।
अहिले वडामा ग्राभेल नभएको ठाउँ पनि लगभग छैन । चालु आर्थिक वर्षका केही योजना कार्यान्वयन हुन बाँकी नै छन् । ती योजनासमेत सम्पन्न भएपछि वडाको विकासले अझ गति लिने अपेक्षा गरेका छौँ । त्यसैगरि चोकलाई सौन्दर्यीकरण गर्याैँ । त्यसपछि यहाँका घाट र सामुदायिक भवनहरू भए, यी भवनहरूलाई पनि हामीले व्यवस्थित बनायौँ । साँच्चै भन्ने हो भने, हाम्रो वडामा एउटा टोलबाट अर्काे टोल वा गाउँसम्म जाने बाटोसमेत नभएको अवस्था थियो ।
उदाहरणका लागि, अहिले जसलाई श्रीलङ्का टोल भनिन्छ, त्यहाँ हामीले बाटो नै जोड्ने काम र्गयौँ । त्यस्तै, खोरिया टोलमा जानका लागि पहिले कटहरी हुँदै घुमेर जानुपर्ने अवस्था थियो । त्यसलाई पनि हामीले करिब ३०–३५ लाख रुपैयाँ खर्च गरेर कल्भर्ट र पुल निर्माण गरी सिधा बाटोबाट जोड्ने काम गरेका छौँ । यसरी हेर्दा अहिलेको कार्यकालमा धेरै महत्वपूर्ण काम भएका छन् । पहिलाको अवस्थासँग तुलना गर्ने हो भने वडामा विकासले निकै गति लिएको छ । त्यसबाट यहाँका नागरिक पनि सन्तुष्ट नै हुनुहुन्छ भन्ने मलाई लागेको छ ।
धुलोमुक्त बनाउने काम पूर्ण रूपमा गर्न नसके पनि वडालाई हिलोमुक्त बनाउने लक्ष्यमा भने हामी धेरै हदसम्म सफल भएका छौँ ।
कालोपत्रे २० किलोमिटर गरेँ भन्नुभयो । अब वडाभित्र कालोपत्रे गर्नुपर्ने क्षेत्र सकिएको हो ?
होइन, अझै धेरै काम गर्न बाँकी छ । हामीले अहिलेसम्म मुख्य रूपमा एउटा गाउँलाई अर्काे गाउँसँग जोड्ने सडकलाई प्राथमिकतामा राखेर कालोपत्रे गरेका हौँ । उदाहरणका लागि, ग्रामथानका वडा नम्बर १ र २ तथा कटहरीका वडा नम्बर ५ र १ लाई जोड्ने सडकहरू निर्माण तथा सुधार गरेका छौँ । त्यस्तै, पालिका तथा छिमेकी वडाहरूसँग जोडिने महत्वपूर्ण सडकलाई पनि प्राथमिकतामा राखेर काम गरेका छौँ । तर, कटहरी–५ जोड्ने एउटा सडक भने अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन ।
यद्यपि, त्यसको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ । त्यसलाई पनि क्रमागत रूपमा पूरा गर्ने हाम्रो योजना छ । यसका साथै, यसअघि निर्माण भएका सडकहरूमाथि पनि आवश्यकता अनुसार सुधारको काम गरेका छौँ । समग्रमा हेर्दा अहिलेसम्म करिब २०–२२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४५–५० किलोमिटरको हाराहारीमा रिटेनिङ वाल निर्माण भएको छ । तर, यति काम भइसक्दा पनि वडाभित्र कालोपत्रे गर्नुपर्ने सडकको ठूलो हिस्सा अझै बाँकी छ ।
अहिले पनि करिब ७५ प्रतिशत सडक कालोपत्रे गर्न बाँकी रहेको अवस्था छ । त्यसैले आगामी दिनमा सडक कालोपत्रे गर्ने कामलाई पनि प्राथमिकतामा राखेर क्रमशः अगाडि बढाउने योजना छ
भौतिक पूर्वाधारको तुलनामा शिक्षा र स्वास्थ्य क्षेत्रको काम चाही छायाँमा परेको हो ?
भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरेका छौँ । विद्यालयको भौतिक संरचना र शैक्षिक वातावरणमा सुधार आएको छ । स्वास्थ्यतर्फ हाम्रो वडामा रहेको स्वास्थ्य चौकीलाई पालिका अस्पतालको रूपमा विकास गरेका छौँ । यहाँबाट स्वास्थ्य बिमा सेवामार्फत रेफरको व्यवस्था, एम्बुलेन्स सेवा र बर्थिङ सेन्टर सञ्चालनमा छन् ।
यसले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । समग्रमा हेर्दा यो पाँच वर्षमा वडाको भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । हामीले निर्वाचनका बेला वडाको शिक्षा क्षेत्रलाई सुधार गर्ने विषयलाई प्राथमिकतामा राखेका थियौँ । त्यसैले घोषणापत्रअनुसार नै काम गर्नुपर्छ भनेर सुरुदेखि नै पहल र्गयौँ ।
विद्यालय सुधारका लागि हामीले नगर शिक्षा अधिकारी, शिक्षाका सरोकारवाला, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–अभिभावक संघलगायत सबै सरोकारवालालाई एक ठाउँमा राखेर छलफल र्गयौँ । विद्यालयको अवस्था के छ, सुधारका लागि के–कस्ता चुनौती छन् र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा छलफल गरेर त्यसैअनुसार सुधारको काम अघि बढायौँ ।
अहिलेसम्म करिब २०–२२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४५–५० किलोमिटरको हाराहारीमा रिटेनिङ वाल निर्माण भएको छ । तर, यति काम भइसक्दा पनि वडाभित्र कालोपत्रे गर्नुपर्ने सडकको ठूलो हिस्सा अझै बाँकी छ ।
पहिलेको तुलनामा अहिले यहाँका सामुदायिक विद्यालयहरुमा के कस्तो सुधार भयो ?
हाम्रो वडाका आधारभूत विद्यालयमा पहिले २०–२५ जना बालबालिका मात्र अध्ययन गर्ने अवस्था थियो । अहिले ती विद्यालयमा गएर हेर्नुभयो भने करिब १०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो पनि विद्यालय सुधारको महत्वपूर्ण उपलब्धि हो भन्ने हामीलाई लागेको छ । हाम्रो वडामा एउटा मात्र माध्यमिक विद्यालय छ । त्यहाँ पनि अहिले विद्यार्थीको उपस्थिति राम्रो छ ।
शिक्षक संख्या पर्याप्त छ र अधिकांश शिक्षक तालिमप्राप्त हुनुहुन्छ । विद्यालयमा पहिले भवनको पनि समस्या थियो । हाम्रो पहलमा भवन निर्माण भएपछि भौतिक पूर्वाधारको समस्या पनि केही हदसम्म समाधान भएको छ । विद्यालयलाई अंग्रेजी माध्यममा लैजाने काम गरिएको छ । विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री पनि प्रत्येक वर्ष विद्यालयलाई उपलब्ध गराउँदै आएका छौँ ।
गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने विषयमा हामी निकै गम्भीर छौँ । त्यसैले विद्यालयका बैठक तथा छलफलमा पुगेर प्रधानाध्यापक र शिक्षकहरूलाई गुणस्तरीय शिक्षाका लागि स्पष्ट ‘एक्सन प्लान’ बनाएर काम गर्न पनि आग्रह गर्दै आएका छौँ । समग्रमा हेर्दा, पहिलेको तुलनामा अहिले विराटनगर–१९ का विद्यालयहरूमा विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शैक्षिक वातावरण र व्यवस्थापनका हिसाबले धेरै सुधार आएको छ । अझै पनि केही काम गर्न बाँकी छन्, तर विगतको अवस्थासँग तुलना गर्दा विद्यालय सुधारमा उल्लेख्य प्रगति भएको छ ।
यस अवधिमा तपाँइले चाहेर पनि पुरा गर्न नसकेका अधुरा योजनाहरु चाही के के हुन् ?
केही चुनौती र अधुरा कामहरू अझै छन् । हाम्रो वडामा सुकुम्बासी बस्तीको संख्या अत्यधिक छ । यो हाम्रो लागि ठूलो चुनौतीको विषय हो । हामीले २० वटा घर निर्माण गरेर सुकुम्बासी परिवारलाई हस्तान्तरणसमेत गरेका छौँ । तर, अझै करिब सात–आठ सय घरपरिवार सुकुम्बासीका रूपमा बसोबास गरिरहेका छन् । उहाँहरूको उचित व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती हो ।
हामीले व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ, तर पर्याप्त स्रोतसाधनको अभावका कारण अपेक्षाअनुसार काम गर्न सकिरहेका छैनौँ । वडामा जग्गा उपलब्ध छ । यदि हामीसँग करिब ५०–६० करोड रुपैयाँ बजेट हुने हो भने सुकुम्बासी बस्तीलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि हामीले योजना पनि बनाएका छौँ । अर्काे ठूलो समस्या भनेको यहाँको डुबान हो । डुबान समस्या समाधानका लागि हामीले तीन चरणमा काम अघि बढाएका छौँ ।
पुष्पलाल चोक–विराटचोक सडकखण्डबाट पानी निकास गर्ने व्यवस्थामा केही सफलता प्राप्त भएको छ, तर यो कामले अझै पूर्णता पाएको छैन । त्यस्तै, रङ्गशालाको दक्षिणतर्फबाट पनि पानी निकास गर्ने हाम्रो योजना छ । बजेट केही कम भएकाले क्रमागत रूपमा काम अगाडि बढाइरहेका छौँ । खदरा टोलमा पनि तीन ठाउँबाट पानी निकास गर्ने काम सुरु गरेका छौँ । यी योजनाहरू सम्पन्न भएपछि वडाको डुबान समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरेका छौँ ।
विराटनगर–१९ मा रहेको रङ्गशाला पनि हाम्रो अर्काे महत्वपूर्ण विषय हो । विराटनगरमा रहेको यो एक मात्र रङ्गशाला हो र क्षेत्रीयस्तरको रङ्गशाला पनि हो । नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गर्दै करिब ३ अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेएनजी आन्दोलनपछि भएको बजेट कटौतीमा यो योजना पनि परेको छ । हामीले वातावरणीय डीपीआरसमेत तयार गरेर पठाएका थियौँ र मन्त्रालयमा पनि पेस भइसकेको थियो । तर, पछि बजेट कटौती भएपछि रङ्गशाला निर्माणको काम अघि बढ्न सकेन । सुकुम्बासी व्यवस्थापन, डुबान नियन्त्रण र रङ्गशाला निर्माणजस्ता विषयहरू अहिले पनि हाम्रो वडाका महत्वपूर्ण अधुरा तथा चुनौतीका रूपमा रहेका छन् ।
यो वडा साविकको झपा बैजनाथपुर गाविस थियो, विराटनगर महानगरपालिका बनेसँगै सो गाविस पनि महानगरमा समेटियो । यहाँका बासिन्दाले आफू महानगरवासी भएको कत्तिको महसुस गरेका छन् ?
अहिले चाहिँ यहाँका बासिन्दाले आफू महानगरवासी भएको केही हदसम्म महसुस गर्न थालेका छन् । विशेषगरी हाम्रो कार्यकालमा भएका विकास निर्माणका कामले त्यो अनुभूति बढाएको छ । तपाईंहरूले पनि टोल–टोलमा गएर स्थानीय बासिन्दासँग सोध्नुभयो भने त्यसको अनुभव गर्न सक्नुहुन्छ । मैले पनि वर्षमा कम्तीमा एकपटक सञ्चारकर्मीहरूलाई लिएर हामीले गरेका विकास निर्माणका कामहरू प्रत्यक्ष देखाउने गरेको छु । अवश्य पनि केही कामहरू अझै बाँकी छन् । हामीले निर्माण गरेका अधिकांश सडकको चौडाइ २० फिटभन्दा माथि राखेका छौँ । यसको मुख्य कारण भविष्यलाई ध्यानमा राख्नु हो । बस्ती विस्तार भइसकेपछि सडक चौडा गर्न निकै कठिन हुन्छ । अहिले नै आवश्यक मापदण्डअनुसार सडकको चौडाइ कायम गर्न सकियो भने भविष्यमा सडक विस्तारका क्रममा हुने विवाद पनि कम हुन्छ । त्यसैले हामीले सुरुवातमै सडकको चौडाइ कम्तीमा २० फिटभन्दा माथि कायम गरेर निर्माण गर्ने नीति लिएका छौँ ।
भोलिका दिनमा ती सडक कालोपत्रे गर्दा पनि आवश्यक मापदण्ड पूरा गर्न सहज होस् भन्ने हाम्रो उद्देश्य हो । अहिलेको अवस्थामा अन्य वडाको तुलनामा विराटनगर–१९ पनि विकासका हिसाबले महानगरपालिकाकै एउटा महत्वपूर्ण वडाका रूपमा अगाडि बढिरहेको छ । यहाँका नागरिकले पनि स्वतःस्फूर्त रूपमा ‘हामी महानगरवासी हौँ’ भन्ने अनुभूति गर्न सक्ने अवस्था निर्माण भएको छ भन्ने मलाई लाग्छ ।
विराटनगर–१९ कृषि क्षेत्र हो की आवास क्षेत्र ?
विराटनगर–१९ लाई हेर्दा कृषि क्षेत्रजस्तो देखिन्छ । तर यहाँका अधिकांश जग्गा खण्डीकरण भइसकेका छन । अहिले जग्गा वर्गीकरण गर्दा पनि यस क्षेत्रलाई कृषि–आवासका रूपमा वर्गीकरण गरिएको छ । यद्यपि व्यवहारिक रूपमा हेर्दा अधिकांश क्षेत्र आवास क्षेत्रकै रूपमा विकास भइसकेको अवस्था छ । विराटनगर महानगरपालिकाभित्र १८, ४, १२ र १४ नम्बर वडामा केही मात्रामा कृषि क्षेत्र बाँकी छ । त्यसबाहेक अन्य क्षेत्रमा अहिले कृषि क्षेत्र निकै कम देखिन्छ। त्यसैले जग्गा वर्गीकरणको हिसाबले पनि विराटनगर–१९ लाई मूलतः आवास क्षेत्रकै रूपमा बुझ्नुपर्ने अवस्था छ ।
यहाँ कृषिमै आधारित भएर जिवन निर्वाह गर्ने कृषकहरुको सङ्ख्या पनि त उल्लेखनीय रुपमै छैन र ?
आवास क्षेत्रका रूपमा विकास हुँदै गए पनि विराटनगर–१९ मा कृषकहरूको संख्या उल्लेख्य छ र कृषि गतिविधि अझै भइरहेको छ । त्यसैले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता छ । मैले विराटनगर महानगरपालिकाको आर्थिक विकास समितिको संयोजकको जिम्मेवारीमा रहँदा पनि यहाँका किसानहरूलाई कृषि कार्यमा आवश्यक पर्ने सामग्री तथा उपकरणका लागि सहयोग गर्ने प्रयास गरेको छु ।
किसानहरूलाई ट्र्याक्टर, पम्पसेट, सेक्सन पाइप, बोरिङ, मोटरलगायतका सामग्रीमा अधिकतम सहयोग गरिएको छ । यसले कृषि क्षेत्रमा काम गरिरहेका किसानलाई आफ्नो उत्पादन बढाउन केही सहज भएको छ । अर्काेतर्फ, हामीले परम्परागत रूपमा धान खेतीमा मात्रै निर्भर हुनुभन्दा तरकारी खेतीतर्फ पनि जोड दिनुपर्छ भन्ने कुरा किसानहरूलाई भन्दै आएका छौँ ।
फर्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी उत्पादन गर्न आग्रह गरेका छौँ । यही क्रममा केही फर्मलाई सहयोग पनि गरिएको छ र उहाँहरूले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको छ । विराटनगर–१९ मा आवास विस्तार भइरहे पनि यहाँको कृषि पहिचानलाई पनि जोगाएर लैजान आवश्यक छ । आवास क्षेत्र विस्तारसँगै बाँकी रहेको कृषि गतिविधिलाई व्यवस्थित र व्यावसायिक बनाउन सकेमा किसानका लागि पनि थप अवसर सिर्जना गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।