बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला

विराटनगर ११ भदौ । रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ ।

साँझ पाँच बजेसम्मको तथ्यांकअनुसार ३५९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको हो । त्यस्तै ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२, ग्रान्ड अस्पतालमा १, नर्भिकमा २, मनमैजु शुभम् अस्पतालमा २, वीर अस्पतालमा २, गिनसिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

२८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि चार हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाली सेनाले पनि उद्धारको काम गरिरहेका छन ।

भोटेकोशी बाढीमा फसेका २४१ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बाढी प्रभावितहरूको हवाई उद्धार गरिएको हो । उनीहरुलाई रसुवा र नुवाकोटका विभिन्न ठाउँबाट उद्धार गरिएको सेनाले जनाएको छ ।