विराटनगर ११ भदौ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारले आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको स्पष्ट पार्नुभयो ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले जनप्रतिनिधि तथा अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरका कर्मचारीबाट पाँच दिनको तलब सहयोग गर्ने जनाएको छ । अधिकृतस्तरका शिक्षकबाट पाँच दिन र सहायकस्तरका शिक्षकबाट तीन दिनको तलब सहयोग गरिनेछ ।
संकलित रकममध्ये ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख नागेश्वरप्रसाद सिंहले जानकारी दिनुभयो । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोटेकोशीमा भएको विपद् कुनै एक भूगोल वा समुदायको मात्रै समस्या नभई सिंगो मुलुकको साझा पीडा भएको बताउनुभयो ।