एमएचपीई उपाधिको कानुनी हैसियत स्पष्ट गर्न माग

विराटनगर १० भदौ । पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट मास्टर इन हेल्थ प्रमोसन एजुकेसन (एमएचपीई) उपाधि हासिल गरेका विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेशागत पहिचानमा अन्योल सिर्जना गर्ने गतिविधि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छानबिनको माग गरेका छन ।

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ, नेपाल (एचइपीइएन) ले स्वास्थ्य शिक्षा (एच.इडियु) नामबाट छुट्टै समूह वा श्रेणी कायम गर्न खोजेको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को ऐन तथा नियमावलीमा यस्तो छुट्टै श्रेणीको व्यवस्था नरहेको उनीहरूको दाबी छ ।

मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा विद्यार्थीहरूले एचइपीइएनबाट जारी विज्ञप्ति तथा प्रचार सामग्रीले आफूहरूले विश्वविद्यालयबाट प्राप्त गरेको उपाधि र भविष्यको पेशागत पहिचानबारे अन्योल सिर्जना गरेको उल्लेख गरेका छन । उनीहरूले त्यस्ता विज्ञप्ति तत्काल खारेज गर्न तथा एचइडियु नामको समूह वा श्रेणी कसरी, कुन निर्णयबाट र कुन कानुनी आधारमा सिर्जना गरिएको हो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन ।

विद्यार्थीहरूका अनुसार एमएचपीई, एमपीएच, एचपीई, एमपीएच एचएसएम, एमपीएचएन, एमएस्सी पीएच लगायतका उपाधि जनस्वास्थ्य क्षेत्रका विभिन्न विशेषज्ञतासँग सम्बन्धित छन । विश्वविद्यालयले निर्धारण गरेको प्रक्रिया पूरा गरी प्राप्त गरेको उपाधिको पेशागत पहिचान कुनै संघ–संस्थाको विज्ञप्ति वा प्रचारका आधारमा निर्धारण हुन नहुने उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को ऐन तथा नियमावलीले जनस्वास्थ्यसम्बन्धी उपाधिको दर्ता तथा वर्गीकरणका लागि कानुनी व्यवस्था गरेको उल्लेख गर्दै त्यसबाहिर गएर नयाँ पेशागत समूह वा श्रेणी सिर्जना गर्न खोजिएको भए त्यसको स्पष्ट कानुनी आधार सार्वजनिक गर्न माग गरिएको छ ।

विद्यार्थीहरूले एचइडियु नामको समूह कसको प्रस्तावमा, कुन निर्णयबाट र कुन कानुनी व्यवस्थाअन्तर्गत सिर्जना गरिएको हो भन्नेबारे छानबिन गरी दोषी देखिए सम्बन्धित पदाधिकारीमाथि आवश्यक कारबाही गर्नसमेत माग गरेका छन ।

उनीहरूले विश्वविद्यालयको शैक्षिक मान्यता र पेशागत नियमनबीच स्पष्टता कायम गर्नुपर्ने बताएका छन । एमएचपीई उपाधिको दर्ता, लाइसेन्स तथा पेशागत वर्गीकरणबारे सम्बन्धित निकायबाट स्पष्ट निर्णय नआउँदा वर्षाैंको अध्ययन र लगानीपछि प्राप्त उपाधि बोकेका विद्यार्थीको भविष्य अन्योलमा पर्ने उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र चिकित्सा शिक्षा आयोगले सम्बन्धित विश्वविद्यालय तथा विद्यार्थी प्रतिनिधिसँग छलफल गरी एमएचपीई उपाधिको कानुनी तथा पेशागत हैसियत स्पष्ट पार्न माग गरेका छन ।

यसैबीच, पक्षपात र अनावश्यक झमेलाको विरोध गर्दै आफ्नो पेशागत समूहको अधिकार र पहिचानको संरक्षणका लागि नेपाल जनस्वास्थ्य प्रवद्र्धन समाज स्थापना गरी अघि बढ्ने निर्णयसमेत गरिएको विद्यार्थीहरूले बताएका छन ।

विद्यार्थीहरूले भविष्यमा कुनै संस्था वा व्यक्तिले ऐन–नियमावलीविपरीत सरकारी निकायको निर्णयमा दबाब वा धम्की दिन नपाउने गरी आवश्यक निर्देशन जारी गर्नसमेत मन्त्रालयसँग आग्रह गरेका छन । उनीहरूले विवादलाई तत्काल समाधान गरी एमएचपीई लगायत जनस्वास्थ्यसम्बन्धी उपाधिको दर्ता, लाइसेन्स र पेशागत वर्गीकरणबारे स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।