केदारनाथमा फहराइयो विराट स्पोर्ट्स जोनको झण्डा

विराटनगर, २४ साउन ।  विराट स्पोर्ट्स जोनका दुई कर्मचारीले भारतको प्रसिद्ध धार्मिकस्थल केदारनाथ धाममा कम्पनीको झण्डा फहराएका छन्।

केदारनाथ तीर्थयात्रामा रहेका कर्मचारीद्वय विकासबाबु राउत र रोहन कार्कीले केदारनाथ धाममा पुगेर विराट स्पोर्ट्स जोनको झण्डा फहराएका हुन्।

कम्पनीप्रतिको आत्मीयता र समर्पण दर्शाउने कर्मचारीद्वयको कार्यप्रति अध्यक्ष हरिप्रसाद बजगाईंले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

विराट स्पोर्ट्स जोनले व्यापारिक गतिविधिसँगै नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको अध्यक्ष बजगाँईले बताए। कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहकार्य र सहयोग गर्दै आएको  उनले बताए।

विशेषगरी बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा आकर्षित गर्दै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि विद्यालयस्तरीय प्रतियोगिता, प्रशिक्षण तथा विभिन्न खेलकुद गतिविधिमा कम्पनीले सहयोग गर्दै आएको छ।

‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने मूल मर्मका साथ खेलकुद र बालबालिकाको विकासमा आफ्नो योगदानलाई निरन्तरता दिने कम्पनीका अध्यक्ष बजगाईंले बताएका छन्।