विराटनगर १८ साउन । एभरेष्ट स्कुल विराटनगरका विद्यार्थीले मोरङको लेटाङ नगरपालिका–१ स्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल ‘राजारानी’ क्षेत्रको एकदिने शैक्षिक हाइकिङ (पदयात्रा) गरेका छन् ।
कक्षा १२ का विद्यार्थीले शनिबार बिहान लेटाङ–२ को किराँत चोकबाट करिब डेढ घण्टाको पैदल यात्रा गरेका हुन । विद्यार्थीले चुरेको हरियाली, चराचुरुंगीको आवाज र प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अनुभव गरे । राजारानी तालमा पानीभित्र उम्रिएका सिमालीका रूख र त्यसमा झुन्डिएका ४६ प्रजातिका सुनाखरी (अर्किड) को अवलोकन गरेका थिए ।
भ्रमणका क्रममा विद्यार्थीहरूलाई राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले यस क्षेत्रलाई अजिंगरहरूको राजधानी र धिमाल समुदायको उद्गमस्थलका रूपमा चिनाउँदै यसको ऐतिहासिक महत्वबारे जानकारी गराउनुभयो ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै राजारानी क्षेत्र साइबेरियन चराहरूको विश्रामस्थल र जैविक अनुसन्धानको केन्द्र बन्दै गएको जानकारी दिनुभयो ।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले एभरेष्ट स्कुलले सिकाइलाई कक्षा कोठाको चार पर्खालभित्र मात्र सीमित नराखी व्यवहारिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
शिक्षक ऋषभ पाण्डे र विद्यार्थी प्रदान ढकालले पदयात्राले शिक्षक–विद्यार्थीको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सामाजिक सद्भाव र वातावरणीय संरक्षणको पाठ समेत सिकाएको बताएका छन् ।