विराटनगर २२ जेठ । कोशी प्रदेश सरकारले प्रदेशका ६ वटा पालिकामा यसपटक नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दरहरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको छ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा आज परियोजनाको सम्झौता कार्यक्रम भएको छ। कोशी प्रदेश सरकारका सचिव नारायण प्रसाद रिसालले पालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसंग सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। यो सम्झौता अनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय सम्बर्धन परियोजना सञ्चालन हुनेछ।
यसका लागि १ करोड ५० लाख रकम खर्च गरिनेछ। धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई मार्केटिङ परियोजना सञ्चालन गरिनेछ। यो परियोजनामा १ करोड ६५ लाख रुपैयाँ खर्च हुनेछ। त्यस्तै भोजपुरको सडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। यसैगरी मोरङको सुन्दर हरैचा नगरपालिकामा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा १ करोड २६ लाख७५ हजार रुपैयाँमा सञ्चालन हुनेछ। खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाख खर्च हुनेछ।
लिखुपिके गाउँपालिकामा डिजिटल शिक्षा विकास र साक्षरता कार्यक्रम अन्तर्गत ७७ लाख ६० हजार खर्च गरिनेछ। यो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछन्। यो कार्यक्रमले कोशी प्रदेशका ४ लाख ५ हजार ९ ४४ घरधुरी लाभान्वित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
यो परियोजनाको लागतमा पालिका र सरकारको साझेदारी हुनेछ। सम्झौता पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले यो कार्यक्रमले कोशी प्रदेशमा समृद्धिको ढोका खोल्ने बताउनुभयो। उहाँले नव प्रवर्धन परियोजनाका कार्यक्रमले आम नागरिकको समृद्धिमा सहयोग पुग्ने बताउँदै कोसे ढुङ्गा ल साबित हुने उल्लेख गर्नुभयो।