पूर्वी नेपालमा पहिलोपटक आतिफ अस्लमको कन्सर्ट

विराटनगर ५ मंसिर । पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय सांगीतिक गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित विश्वचर्चित पाकिस्तानी गायक आतिफ अस्लमको लाइभ कन्सर्ट इटहरीमा आयोजना हुने भएको   छ ।

काठमाडौं उपत्यकाबाहिर पहिलोपटक हुन लागेको उनको सांगीतिक प्रस्तुति आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा हुने भएको हो ।

‘इस्टर्न इकोज’ नाम दिइएको उक्त कन्सर्ट जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न लागेको हो । कन्सर्टमा आतिफ अस्लमले आफ्ना चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन् ।

आयोजक जयराज रायका अनुसार काठमाडौंमा मात्रै सीमित हुँदै आएका अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रमलाई पूर्वी नेपालसम्म विस्तार गर्ने उद्देश्यले इटहरी रोजिएको हो । पूर्वी नेपालमा पनि ठूला अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिन कन्सर्ट आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

सीमावर्ती भारतीय सहरहरूबाट समेत दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार भारतबाट मात्रै ८ देखि १० हजार दर्शक कन्सर्टमा सहभागी हुने अनुमान छ ।

कन्सर्टले पूर्वी नेपालको पर्यटन प्रवद्र्धनसँगै होटल, यातायात, रेस्टुरेन्ट तथा स्थानीय व्यवसायको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । आतिफ अस्लमको प्रस्तुतिले इटहरीलाई अन्तर्राष्ट्रिय सांगीतिक आकर्षणको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।

कन्सर्टको टिकट खल्ती एपमार्फत डिजिटल रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।