विराटनगर २३ कात्तिक । तिहार पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन कोसी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले नियमित सुरक्षासँगै मोबाइल गस्ती, सादा पोसाकका प्रहरी तथा विशेष निगरानी टोली परिचालन गरेको हो ।
तिहारका बेला देउसीभैलो, सांस्कृतिक कार्यक्रम, धार्मिक गतिविधि तथा बजार क्षेत्रमा हुने भीडभाडलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। विशेषगरी धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने विवाद, चोरी, लुटपाट, तस्करी, जुवातास र प्रतिबन्धित पटका प्रयोगलाई प्रहरीले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
तिहारमा घर, पसल तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलन बढ्ने भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहने प्रहरीको आकलन छ। विद्युत् जडानमा हुने लापरबाही, गुणस्तरहीन विद्युतीय सामग्रीको प्रयोग तथा बत्ती बालेर लामो समयसम्म बेवास्ता गर्दा आगलागीका घटना हुन सक्ने भएकाले यसतर्फ पनि प्रहरीले सचेत गराएको छ । त्यस्तै, चाडपर्वका बेला जुवातास खेल्ने तथा खेलाउने गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष टोली नै परिचालन गरेको छ। होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थल तथा शंकास्पद स्थानमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार तिहारमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा जोखिमको मूल्यांकन गरेर प्रहरी परिचालन गरिएको हो ।
प्रहरीले तिहारका बेला धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै एकअर्काको पर्व र परम्पराको सम्मान गर्नसमेत आग्रह गरेको छ। देउसीभैलो खेल्दा अरूलाई असर नपर्ने गरी समय र स्थानको ख्याल गर्न, पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न र विद्युत् बत्ती प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै, जुवातास खेल्ने, प्रतिबन्धित पटका पड्काउने, चोरी तस्करी गर्ने तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।