नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो

विराटनगर ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो ।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन् ।

महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ । यसपटक विधानमा व्यापक संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ । साथै, समावेशिताका आधारमा केन्द्रीय समिति चयन गरिएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको अभ्यास गरिएको छ । नयाँ विधानअनुसार वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक–एक जना तथा खुला उपसभापति दुई जना निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभयो ।

खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए । महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित हुनुभयो । संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित हुनुभयो । विधानमा १५ जना सहमहामन्त्री रहने व्यवस्था छ । त्यसमध्ये ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

निर्वाचित ११ सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित हुनु भएको छ ।

खुलातर्फका ४५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गर्नुभयोे । संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चुनिएका छन् ।

केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् ।