विराटनगर २७ असोज । सर्पदंशको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सर्पदंशको जोखिम न्यूनीकरणका लागि तत्काल अस्पताल पुग्ने वातावरण र समुदायस्तरमा सचेतना आवश्यक रहेको उनीहरुको भनाई छ ।
सर्पदंशपछि अपनाइने गलत प्राथमिक उपचार र अस्पताल पुर्याउन हुने ढिलाइका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको उनीहरुकोभनाई छ । फेयरमेड र सिबिआर विराटनगरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरूले सर्पदंशको जोखिम न्यूनीकरणका लागि तत्काल अस्पताल पुग्ने वातावरण र समुदायस्तरमा सचेतना आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र त्यसमध्ये करिब एक हजार जनाको मृत्यु हुने अनुमानित तथ्याङ्क प्रस्तुत गर्नुभयो। । उहाँका अनुसार विशेषगरी तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन् ।
नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये गोमन, करैत, किङ कोब्रा, भाइपरसहित १७ प्रजाति मात्र विषालु रहेको जानकारी दिँदै श्रेष्ठले सर्पले डस्नासाथ धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, डाम्ने तथा कसिलो गरी बाँध्ने जस्ता गलत अभ्यासले बिरामीको अवस्था झन् गम्भीर बनाउने बताउनुभयो ।
अन्धविश्वास र घरेलु उपचारमा समय खेर नफाली बिरामीलाई जतिसक्दो छिटो एन्टिभेनमसहितको स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने उहाँले बताउनुभयो । फेयरमेडकी वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त समुदायसम्म सही र वैज्ञानिक सूचना पुर्याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
सिबिआरका जिल्ला परियोजना संयोजक जेनिश चौधरीले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी आपत्कालीन यातायातको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।