विराटनगर २१ असोज । विराटनगरमा २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
आयोजकले प्रतियोगिताको तयारीका बारेमा बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा हुने प्रतियोगितामा सातवटै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ५० किलो तौल समूहदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४० देखि ४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुने कार्कीले बताउनुभयो । उहाँका अनुसार ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन तथा सेल्फ डिफेन्समा पनि पुरुष र महिला खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ । छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा महासंघका प्रतिनिधि तीन जना, अम्पायर ३५ जना, प्रशिक्षक तथा व्यवस्थापक ३० जना र स्थानीय अम्पायर पाँच जनासहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।