विराटनगर २१ असोज । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापतिका उम्मेदवार मनोजकुमार साहले विवादका कारण स्थगित भएको क्षेत्रीय अधिवेशनमा पुनः मतदान गराउन माग गर्नु भएको छ ।
क्षेत्रीय सभापतिका उम्मेदवार साहले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुन : मतदानको माग गर्नु भएको हो । उहाँले भन्नुभयो,‘ सभापति चयनका लागि गत असोज १३ गते दिउँसो ३ बजेदेखि मतदान सुरु भएको थियो ।
मतदान चलिरहेका बेला करिब ४ बजेतिर विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भयो । घटनामा उम्मेदवार साहसहित कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीलगायत केही कार्यकर्ता घाइते भए । मतदानस्थलमा मतपत्रसमेत छरिएपछि निर्वाचन प्रक्रिया प्रभावित भन्यो ।’
विवादपछि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई पत्र पठाउँदै सुनसरी–४ को निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको उम्मेदवार साहले बताउनुभयो ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवार तथा मतदाता घाइते भएको र मतपत्र छरिएको जानकारी प्राप्त भएको उल्लेख गर्दै तत्काल निर्वाचनका कार्यक्रम अगाडि नबढाउन निर्देशन दिएको सार्वजनिक विवरणमा उल्लेख छ ।
उम्मेदवार साहका अनुसार केन्द्रीय समितिको निर्देशन विपरित क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी पक्षले साँझतिर एकपक्षीय मतदान गराइएको थियो ।
विवादकै बीच भएको उक्त मतदान निष्पक्ष र व्यवस्थित हुन नसकेको साहको दावी छ ।
साहले असोज १७ गते जिल्ला निर्वाचन अधिकृत भरतबहादुर थापालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै पुनः मतदानको माग गरेको बताउनुभयो । उहाँका अनुसार विवादित अवस्थामा भएको मतदानलाई आधार मानेर नेतृत्व चयन गर्नु उचित नभएकाले निर्वाचन प्रक्रिया पुनः सुरु गरिनुपर्छ । साहले भन्नुभयो,‘ केन्द्रीय निर्वाचन समितिलाई पनि ध्यानाकर्षण गराएको छु ।’
सुनसरी–४ को क्षेत्रीय सभापतिमा मनोज साह र हरिनगर गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका गफार अन्सारीबीच प्रतिस्पर्धा थियो ।
विवादका विचमा अन्सारीलाई सुनसरी–४ को क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको प्रमाणपत्र निर्वाचन समितिले दिएको साहको आरोप छ ।
साहले विवादित परिस्थितिमा भएको प्रक्रिया र त्यसबाट आएको निर्णयप्रति असहमति जनाउँदै पार्टीको विधि, विधान र निर्वाचन प्रक्रियाअनुसार पुनः मतदान गरिनुपर्ने माग गर्नुभयो ।
