पूर्वसञ्चालकहरूको रकम भुक्तानी गरिसकेको हाजी आँखा अस्पतालका अध्यक्ष गुप्ताकाे दाबी  

विराटनगर १८ असाेज । विराटनगर महानगरपालिका–१४ रानीस्थित हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रा.लि.)को सेयर कारोबार र भुक्तानी विवादमा अस्पतालका अध्यक्ष मन्नुकुमार गुप्ताले पूर्वसञ्चालकहरूको रकम भुक्तानी गरिसकेको दाबी गर्नु भएकाे छ ।

सेयर बिक्रीबापत १ करोड ५८ लाख रुपैयाँ नपाएको भन्दै पूर्वसञ्चालकहरूले शनिकार विराटनगरमा पत्रकार सम्मेलन गरि आरोप  लगाएपछि गुप्ताले विज्ञप्ति मार्फत बैंकिङ कारोबार र नगद भुक्तानीको विवरण सार्वजनिक गर्दै उक्त दाबीको खण्डन गर्नु भएकाे हाे ।

अस्पतालका अनुसार चारै जनाले पाउनुपर्ने कुल १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी भइसकेको छ । अस्पतालले भुक्तानीका लागि बैंकिङ कारोबार र नगदको विवरणसमेत सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा डा. गुणराज कट्टेलले पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँमध्ये एक्सेल डेभलपमेन्ट बैंकमार्फत २३ लाख ९० हजार, ग्लोबल आइएमई बैंकमार्फत ११ लाख र विभिन्न मितिमा २२ लाख ९० हजार रुपैयाँ नगद बुझिसकेको उल्लेख छ । २०८२ मंसिर १२ देखि माघ १५ गतेसम्म उक्त रकम भुक्तानी गरिएको अस्पतालको दाबी छ ।

त्यस्तै, ज्याउल कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ बैंकमार्फत र बाँकी ९ लाख ६२ हजार ६०७ रुपैयाँ नगद भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजेश साहलाई पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको अस्पतालको दाबी छ । एक्सेल डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकमार्फत २०८२ साउन १० देखि असोज २१ गतेसम्म गरिएको उक्त भुक्तानी पाउनुपर्ने रकमभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मो. अतहर अनसारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका पिता कादिर अनसारीको नाममा एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ५ लाख ७२ हजार ६६१ रुपैयाँ नगद बुझाइएको अस्पतालको भनाइ छ ।

पूर्वसञ्चालकहरूले  सेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको आरोप लगाएका थिए । उनीहरूले अस्पतालका १६ सञ्चालकमध्ये गुप्ताबाहेक अन्य सबैले सेयर बिक्री गरेको र चार जनाको रकम भुक्तानी हुन बाँकी रहेको दाबी गरेका थिए ।

अस्पतालका अध्यक्ष गुप्ताले भने उच्च अदालतको निर्णयको सम्मान गर्दै २०८३ असोज ६ र ७ गते ग्यारेन्टीबापतको १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको बताउनु भएकाे छ । बैंकमा रकम जम्मा भइसकेपछि पनि सम्बन्धित पक्षले रकम नबुझेको र सञ्चारमाध्यममार्फत अस्पताल तथा आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजेको उहाको आरोप छ ।

सेयर खरिद गर्दाका बखत ग्यारेन्टीस्वरूप दिइएको कुमारी बैंकको चेकलाई आधार बनाएर अस्पताललाई अनावश्यक दुःख दिने र कालोसूचीमा पार्ने प्रयास भइरहेको गुप्ताको दाबी छ । अस्पतालले संस्थाको छविमा आँच पुर्‍याउने पक्षविरुद्ध कानुनी उपचारमा जाने चेतावनीसमेत दिएको छ ।

अध्यक्ष गुप्ताले जिल्ला अदालत माेरङमा मुद्दा विचाराधीन रहेकाे बताउनु भएकाे छ ।