विराटनगर १५ असाेज । गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित नवलपरासीस्थित गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीमा आगामी मंसिर १ देखि २९ गतेसम्म अष्टाचल धनधान्याचल गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना हुने भएको छ।
महायज्ञको तयारी र उद्देश्यबारे आयोजकले बिहीबार विराटनगरमा कोशी प्रदेशका पूर्वमन्त्री भीम पराजुलीलगायत सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
कार्यक्रममा महायज्ञमार्फत वैदिक शिक्षा, संस्कृत तथा धार्मिक अध्ययनको प्रवर्द्धन गर्दै गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।
गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ। यहाँ हरेक वर्ष चैत शुक्ल सप्तमीका दिन गजेन्द्रमोक्ष–नारायण–मुक्तिनाथ रथयात्रा निकालिँदै आएको छ। रथयात्रा २०८१ सालदेखि सुरु गरिएको हो।
आयोजकका अनुसार महायज्ञ धार्मिक अनुष्ठानमा मात्र सीमित नरही वैदिक ज्ञान, संस्कृत शिक्षा तथा धार्मिक पर्यटनको विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाइनेछ।
विश्वविद्यालय स्थापनाका लागि आवश्यक सहयोग, सहकार्य र जनसमर्थन जुटाउने उद्देश्यसमेत महायज्ञको रहेको जनाइएको छ।
अन्तरक्रियामा सहभागी सरोकारवालाले गजेन्द्रमोक्ष क्षेत्रको धार्मिक, सांस्कृतिक तथा शैक्षिक महत्वलाई उजागर गर्दै वैदिक शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता अभियानले योगदान पुर्याउन सक्ने धारणा राखेका थिए।