विराटनगर ३ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले उहाँले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो। सामाजिक तथा आर्थिक विकासलाई तीव्रता दिँदै राष्ट्रिय पुँजी निर्माण र समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्वका लागि समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयबाट मात्रै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उनले उल्लेख गर्नुभयो।
बदलिँदो विश्व परिवेश तथा तीव्र सामाजिक, आर्थिक र प्राविधिक परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्रिय हितको प्रवर्द्धनमा अघि बढ्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले संविधानको संरक्षण र समृद्धिको यात्रामा युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई जोड्नुपर्नेमा जोड दिनुभयो।