पूवि स्कुल अफ इन्जिनियरिङद्वारा १८२ विद्यार्थीको स्वागत, १५७ विद्यार्थीलाई बिदाइ

विराटनगर २२ साउन । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूको स्वागत तथा स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ गरेको छ ।

विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सन् २०२५ मा स्नातक तहमा भर्ना भएका १८२ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ भने सन् २०२० ब्याचका अध्ययन पूरा गरेका १५७ जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।

स्कुल अफ इन्जिनियरिङका निर्देशक डा. धर्मेन्द्रकुमार सिंहका अनुसार यस वर्ष स्नातक तहमा सिभिल इन्जिनियरिङमा ८०, कम्प्युटर इन्जिनियरिङमा ६८ तथा इलेक्ट्रिकल इन्जिनियरिङमा ३४ जना गरी १८२ विद्यार्थी भर्ना भएका छन । त्यसैगरी अध्ययन पुरागरी बिदाइ भएका विद्यार्थीमध्ये सिभिल इन्जिनियरिङका ७५, कम्प्युटर इन्जिनियरिङका ५३, इलेक्ट्रिकल इन्जिनियरिङका २४ तथा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन (इसिए) कार्यक्रमका ५ जना रहेका छन ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले नयाँ विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम नभई समस्या समाधान गर्ने क्षमता विकास गर्ने महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले आधुनिक प्रविधिको तीव्र विकाससँगै इन्जिनियरिङ अध्ययनलाई अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोचसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

रजिष्ट्रार काफ्लेले विद्यार्थीहरूलाई आलोचनात्मक सोच, व्यावहारिक ज्ञान र नैतिक मूल्यलाई आत्मसात गर्दै समाज र राष्ट्रको विकासमा योगदान दिन सक्ने सक्षम इन्जिनियर बन्न आग्रह गर्नुभयो। उहाँले विश्वविद्यालयले गुणस्तरीय तथा समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा परीक्षा नियन्त्रक बालेन्द्र हमालले अध्ययन अवधिमा सिकेका ज्ञान र सीपलाई व्यावसायिक जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्न बिदाइ हुने विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले नयाँ विद्यार्थीलाई अनुशासित, मेहनती र जिम्मेवार भएर अध्ययनमा केन्द्रित हुन सुझाव दिनुभयो ।

स्कुल अफ इन्जिनियरिङका निर्देशक डा. धर्मेन्द्रकुमार सिंहले स्वागत तथा बिदाइ कार्यक्रमले विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक वातावरणसँग परिचित गराउने उद्देश्य राखेको बताउनुभयो । उहाँले इन्जिनियरिङ शिक्षालाई अझ गुणस्तरीय, व्यावहारिक र प्रविधिमैत्री बनाउने दिशामा स्कुलले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक इन्जिनियर कपलेस मण्डललगायतले पनि विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अनुशासन, सिर्जनशीलता र निरन्तर सिकाइको संस्कृतिलाई आत्मसात गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नयाँ तथा बिदाइ हुने विद्यार्थीहरूले नृत्य, सांगीतिक प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोहलाई मनोरञ्जनात्मक बनाएका थिए ।