विराटनगर १४ असार । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित अन्तर– माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताको प्रथम स्थान मेरिल्याण्ड माविका सुरज यादवले हासिल गर्नु भएको छ ।
नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिले आज विराटनगरस्थित श्री जनपथ माविमा आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै यादवले प्रथम स्थान हासिल गर्नु भएको हो ।
‘नेपाली खेलकुद : सम्भावना र चुनौतीहरू’ विषयक वक्तृत्वकला प्रतियोगिताको दोस्रो स्थानमा सुन्दरहरैंचास्थित सिद्धार्थ माविका शरण परियार, तेस्रो स्थानमा पोखरिया माविकी सोनिया तिम्सिना, चौथो स्थानमा सगरमाथा बोर्डिंग स्कूलकी आराध्या कर्ण र पाँचौँ स्थानमा सेन्ट म्यारीकी निर्जला भण्डारी रहन सफल हुनुभएको थियो ।
खेलकुद महासंघ कोशीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पहिलो देखि पाँचौँ स्थानमा आउने विद्यार्थीहरूलाई क्रमशः ५ हजार १००, ३ हजार १००, २ हजार १००, १ हजार १०० र १ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका संयोजक तथा खेलकुद महासंघ केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोलाले प्रतियोगितामा मोरङ जिल्लाका २० माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ मा अध्यनरत ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा विद्यार्थीहरूलाई अंग्रेजी र नेपाली गरेर दुई भाषा मध्ये आफूलाई सहज लाग्ने गरी कुनै एक भाषामा प्रस्तुति दिन अनुमति प्रदान गरिएको बताउनु भयो ।
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य सचिव पर्शुराम बस्नेतले उद्घाटन गर्नु भएको प्रतियोगिताको व्यवस्थापन जनपथ माविले गरेको थियो ।