आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐनको प्रभावकारी कार्यान्वयन हुन सकेन

विराटनगर २ असार । नेपालमा शिशु तथा बालबालिकाको पोषण सुरक्षाका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण गर्न ३ दशकअघि नै कानुन बनेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसेकेको सरोकारवालाहरुले बताएका छन् ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आज विराटनगरमा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ सम्बन्धी सरोकारवालासँग बहस पैरवी तथा अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले स्तनपानको महत्व, नेपालको वर्तमान अवस्था तथा कानुन कार्यान्वयनको आवश्यकताका बारेमा प्रस्तुति दिन् भएको थियो । उहाँका अनुसार शिशु जन्मिएपछि पहिलो एक घण्टाभित्र स्तनपान गराउन सकिएमा नवजात शिशुको मृत्यु जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाको जीवनको पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र त्यसपछि पूरक आहारसँगै कम्तीमा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान गराइराख्ने अभ्यासले बाल मृत्युदर, कुपोषण तथा विभिन्न रोगको जोखिम घटाउँछ ।

श्रेष्ठले गर्भावस्थादेखि बच्चाको दुई वर्ष उमेरसम्मको अवधि अर्थात एक हजार दिनलाई ‘सुनौलो एक हजार दिन’ मानिन्छ । नेपालको पछिल्लो अवस्थाले भने चिन्ता बढाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर ५५ प्रतिशत मात्रै रहेको छ । राष्ट्रिय बहुसूचक सर्वेक्षण २०२४ अनुसार यो दर झन् घटेर ३८ प्रतिशतमा पुगेको छ । कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार स्तनपानको अभ्यासमा सुधार गर्न सकिएमा विश्वभर वार्षिक करिब आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ ।

स्तनपान नगराउँदा विश्वभर वार्षिक करिब ३०० खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ । उच्च अदालत विराटनगरका इजलास अधिकृत सुवास घिमिरेले ऐन तथा नियमावलीका विभिन्न प्रावधानका बारेमा जानकारी गराउँदै कानुनले स्तनपान संरक्षणलाई प्राथमिकता दिएको र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार तीन दशकअघि नै कानुन बनिसकेको भए पनि अहिलेसम्म प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइँदैन ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले पोषणको क्षेत्रमा सोचेजति काम हुन नसकेको बताउनुभयो । उहाँले बाल आहार सम्बन्धी सूचना र शिक्षा प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीका अनुसार नेपालमा शिशु तथा बाल मृत्युदरको प्रमुख कारणमध्ये कुपोषण पनि एक हो । कम तौल, पुड्कोपन, तीव्र कुपोषण तथा सूक्ष्म पोषक तत्त्वको कमीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर र्पुयाइरहेको छ । शिशु जन्मिएपछि एक घण्टाभित्र बिगौती दूध चुसाउने, ६ महिनासम्म पूर्ण स्तनपान गराउने र त्यसपछि पूरक आहारसँगै दुई वर्षसम्म स्तनपान गराइराख्ने अभ्यासले यस्ता समस्या न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

सहभागीहरूले कानुनको जानकारी, अनुगमन प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाको उत्तरदायित्व वृद्धि तथा स्तनपानमैत्री कार्यस्थल निर्माण नगरी स्तनपान प्रवर्धनको लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, अस्पतालका प्रतिनिधि, औषधि व्यवसायी, सुपरमार्केट सञ्चालक, स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।